बिस्केट जात्रा अन्तर्गत लिङ्गो उभ्याइँदै

भक्तपुर । नयाँ वर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज ५५ हात लामो लिङ्गो उभ्याइँदै छ ।
तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा साँझ हजारौँ जात्रालुको सहभागितामा उभ्याइन्छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनु अघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँडिएका आठ वटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।
यसअघि बिस्केटजात्राको अवसरमा प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको कुमाले टोलमा हात नभएको लिङ्गो उठाउने प्रचलन अनुसार बिहान विधिपूर्वक पूजा गरी हात नभएको लिङ्गो उठाइएको छ ।
बिहान हात नभएको लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ हातसहितको नागनागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ ।लिङ्गो उभ्याउनु अघि कैँचीमा डोरी बाँधी सकेपछि प्रहरीहरू ब्याण्ड बाजासहित भेलुखेलमा उपस्थित हुने गर्दछन् ।
यता थिमिको बोडेस्थित महालक्ष्मी मन्दिरमा पनि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
प्रतिक्रिया राख्नुहोस्