दमकमा आज एमालेको जागरण सभा: प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने
भद्रपुर, झापा । सरकारमाथि हमला हुन थालेपछि सङ्घीयता र गणतन्त्रको रक्षाका लागि भन्दै सत्तारुढ नेकपा एमालेको कोशी प्रदेश कमिटीले आज झापाको दमकमा जनजागरण सभा गर्दैछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीले दाबी गरेको छ । दमकको पशुहाटमा हुने सभामा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभएको छ । अबको केहीबेरमा जागरण सभा सुरु हुने जनाएको छ ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औँला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको जानकारी दिनुभयो ।
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुनेछन् । यस्तै, विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया राख्नुहोस्