व्यवस्था परिवर्तन सम्भव छैन : महामन्त्री थापा

भोजपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पुनः पछाडि फर्कने अवस्था नआउने बताउनुभएको छ ।
मुलुक अहिलेको व्यवस्थाबाट पुनः पछाडि फर्कन नसक्ने महामन्त्री थापाको धारणा छ ।
नेपाली कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सदरमुकाममा आज सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको संज्ञा दिँदै त्यो अब सम्भव नहुने बताउनुभयो । अब फेरी नेपालमा संवैधानिक राजा बनाउन नसकिने भन्नुहुँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरहरूलाई सफा गर्न जरुरी रहेको बताउनुभयो ।
अहिले देखिएको असन्तुष्टिको आगो निभाउन जरुरी रहेको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले लडेर ल्याएको व्यवस्था संघीय गणतन्त्र भएकाले भ्रष्ट्राचार, समान अवसरको व्यवस्था र नेतृत्वकर्ताबाट पनि सही काम हुन नसक्दा असन्तुष्टि बढ्दै गएकाले त्यसलाई सुधार गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
२०४६ सालपछि लाभमा रहेका व्यक्तिहरूको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको भन्नुहुँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी काँग्रेसले नबोक्ने बताउनुभयो ।
पार्टीको महाधिवेशन तोकिएको समयभित्र नै हुनुपर्ने भन्नुहुँदै महामन्त्री थापाले अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो ।
२०८३ मङ्सिरभन्दा पछाडि महाधिवेशन गर्न नपाइने उल्लेख गर्नुहुँदै महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण तोकिएको समय भित्र नै सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्