चितवनमा जनक शिक्षा सामाग्रीद्वारा २ करोडभन्दा बढीको पाठ्यपुस्तक बिक्री

चितवन । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले चितवनमा दुई करोड रुपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ ।
कार्यालयले चितवनका लागि तीन दिनको समय दिएको थियो ।
“चितवनका व्यवसायीहरूलाई चैतको २५, २६ र २७ गते तीन दिनका लागि समय दिइएको थियो, त्यही तीन दिनमा दुई करोड १० लाख ७० हजार २७७ रुपैयाँको पाठ्यपुस्तक बिक्री भएको हो ।” कार्यालयका प्रमुख धनबहादुर केसीले भन्नुभयो । उहाँका अनुसार यो बिक्री नेपाली र अङ्ग्रेजी दुवै माध्यमको पाठ्यपुस्तक हो ।
चितवनका व्यवसायीले प्रादेशिक कार्यालय भरतपुरबाट नेपाली माध्यमका पाठ्यपुस्तक १ लाख १३ हजार ७३७ पाठ्यपुस्तक खरिद गरेका थिए । यस्तै, अङ्ग्रेजी माध्यमका ३७ हजार ९८९ थान पुस्तक खरिद गरेका थिए । जम्मा चितवनमा एक लाख ५१ हजार ७२६ पाठ्यपुस्तक व्यवसायीले खरिद गरेका छन् । दुवै माध्यमको पुस्तक चितवनका व्यवसायीहरूले उल्लेख्य मात्रामा खरिद गरेका प्रादेशिक कार्यालय भरतपुरले जनाएको छ ।
“चितवनमा अझै छिटपुट किताब व्यवसायीले लान्छन्, माडी कम गएको छ ।”, प्रादेशिक कार्यालय भरतपुरका सूचना अधिकारी केदारराज विष्टले भन्नुभयो । उहाँका अनुसार चितवनका लागि अहिले दिन खुला गरिएको छैन । उहाँले यतिबेला मकवानपुर, पर्सा, बारातर्फ किताब गइरहेको बताउनुभयो ।
नयाँ शैक्षिक सत्र अगावै पाठ्यपुस्तक बिक्री गर्न सुरु गरेपछि चितवनमा पाठ्यपुस्तक समयमै गएको छ । नयाँ शैक्षिक सत्र सुरु हुन अझै एक हप्ता बाँकी छ ।
कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार प्रादेशिक कार्यालय भरतपुरबाट पूर्वी तनहुँका आँबुखैरहनी, देवघाट गाउँपालिका र नवलपरासीको पूर्वी क्षेत्र, बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पाठ्यपुस्तक जान्छ । जनक शिक्षाले कक्षा ३ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्छ ।
यसअघि नै चैत २५, २६ गते चितवन जिल्लाका लागि पाठ्यपुस्तक बिक्री गर्ने भनिए पनि माग बढी आएका कारण चितवनका लागि ३ दिन पाठ्यपुस्तक बिक्री गरिएको हो । जनक शिक्षामा सूचीकृत भएको चितवनका व्यवसायीले पाठ्यपुस्तक लगेका छन् ।
जनक शिक्षा भरतपुरले गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री गरेको थियो । यस शैक्षिक सत्रमा १५ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री हुने अपेक्षा गरिएको प्रमुख केसीको भनाइ छ ।
चितवनमा हालसम्म सय व्यवसायीले पसल सूचीकृत गरेका छन् । सूचीकृत भएका पसलले मात्र पाठ्यपुस्तक बिक्री गर्न पाउँछन् । स्थानीय तहले विद्यालयको खातामा पैसा हाल्छन् र विद्यालयले नै विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक खरिद गर्छन् ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरमा यस शैक्षिक सत्रका लागि मौज्दातसहित ३० लाख ९६ हजार ५०८ थान पाठ्यपुस्तक छ ।
प्रतिक्रिया राख्नुहोस्