‘मेड इन नेपाल एक्स्पो भोलिदेखि’ तयारी पुरा

चितवन । मेड इन नेपाल चितवन च्याप्टरको आयोजनामा चैत २९ गतेदेखि हुन लागेको मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबलको तयारी पुरा भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल हुन लागेको हो । एक्स्पो एन्ड फुड फेस्टिबवल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
फुड फेस्टिबलको तयारी पूरा भएको मेड इन नेपाल चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिबल संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
फुड फेस्टिबलमा स्टार्टअपका १० वटा स्टल रहनेछन् । स्टार्ट अप व्यवसायीबीच प्रतिस्पर्धा हुने र सर्वोत्कृष्टले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मेड इन नेपाल चितवन च्याप्टरका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताउनुभयो । अल्पसङ्ख्यक समुदायले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि १० वटा स्टल निःशुल्क उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
एक्स्पोमा हरेक दिन बिहान १०ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म नेपालमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ भने बेलुका ६ बजेदेखि राति ९ः०० बजेसम्म साङ्गीतिक प्रस्तुति हुने उहाँले बताउनुभयो । फुड फेस्टिबल तथा साङ्गीतिक प्रस्तुति हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रतिटिकट ३०० रुपैयाँ लाग्ने छ भने सोही दिन एपमार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो अवलोकन गर्दा भने कुनै शुल्क नलाग्ने अधिकारीले बताउनुभयो । एक्स्पो तथा फुड फेस्टिबलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरूको प्रदर्शनी गरिने छ ।
नेपालमै उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लागि एक्स्पो फलदायी हुने अपेक्षा गरिएको छ । एक्स्पो अवलोकनका लागि गेट पासको व्यवस्था गरिएको छ । गेट पास लिएर एक्स्पो अवलोकन गर्ने भाग्यशाली व्यक्तिले मोबाइल उपहार प्राप्त गर्नेछन् ।
‘गेट पास पाएका अवलोकनकर्ताले गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर बक्समा हाल्नुपर्ने हुन्छ । एक्स्पोको अन्तिम दिन एक जना भाग्यशाली अवलोकनकर्तालाई लक्की ड्रमार्फत मोबाइल उपहार प्रदान गर्ने छौँ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एन्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरू सहभागी हुनेछन् ।
१०० भन्दा बढी स्टलहरू रहने एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुतिसमेत रहने मेड इन नेपाल चितवन च्याप्टका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिनुभयो ।
फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरूको स्वादको विविधता पाइनेछ, जसमा अर्ग्यानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरू समावेश हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्