तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : कोशी र गण्डकी प्रदेश फाइनलमा प्रवेश

भोजपुर । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशका बीचमा भिडन्त हुने भएको छ । 

बुधवार भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेशले फाइनलको यात्रा तय गरेको हो । 

पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले हराउँदै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको थियो । खेलको पहिलो, दोस्रो र तेस्रो सेट लगातार २५–२१, २५–१९ र २५–१५ अङ्कले गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । 

आजै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दे कोशी प्रदेशले फाइनल यात्रा तय गरेको छ । कोशी प्रदेशले पहिलो, तेस्रो र पाँचौँ सेटमा २५–२१, ३०–२८ र १५–७ ले सुदूरपश्चिमलाई पराजित गरेको हो । दोस्रो र चौथो सेट भने २५–२२ र २५–२३ ले सुदूरपश्चिम प्रदेशले जितेको थियो । 

विजेता गण्डकी र कोशी प्रदेशका बीचमा विजेता र उपबिजेताका लागि बिहीबार फाइनल खेल हुने छ भने तेस्रो र चौथोको लागि बागमती र सदुरपश्चिमका बिच प्रतिस्पर्धा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग गरेको छ । जिल्लाका नौ वटा पालिका मध्ये आठ पालिकाले प्रतियोगिता सञ्चालनका लागि नौ लाखमाथि सहयोग गरेका छन् भने व्यक्ति तथा संघ संस्थाहरूले समेत समेत गरेको आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा मधेस र कर्णाली बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाँच प्रदेशका खेलाडीको सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद रु तीन लाख, रु एक लाख ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्र कुमार तामाङले जानकारी दिनुभयो । 

पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई नगद दश हजारका साथमा भोजपुरे खुकुरी प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार पुरस्कार प्रदान गरिने छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button