तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप: मच्छिन्द्र फाइनलमा

बारा । मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

१५ औँ संस्करणको पहिलो सेमिफाइनलमा मङ्गलवार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो । गत बर्ष सम्पन्न १४ औँ संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसँग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक पुगेको छ । 

मच्छिन्द्रको जीतमा सब्स्टीच्युट खेलाडी अनिल रानामगरले निर्णायक गोल गरे । प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटसम्म बेन्चमा राखेका अनिल सविन गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए । भरतपुर विरुद्धको महत्त्वपूर्ण खेलमा मैदान प्रवेश गरेको तेस्रो मिनटमै गोलको खडेरी तोड्दै अनिलले मच्छिन्द्रलाई रोमाञ्चक जित दिलाए । खेलको ६८ औँ मिनटमा अनिलले गरेको गोल नै निर्णायक बन्यो । 

मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको  पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा भरतपुरले निकै आकर्षक अवसरहरू बनाएको थियो । अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखे पनि फिनिसिङ लाइन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक सुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार नगद र ट्रफि प्रदान गरे ।

 बुधबार दोस्रो सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमराले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button