तपाईँ सुन्दै हुनुहुन्छः

आधारशिलाले फेरिएको गोमाको जीवनशैली

अर्घाखाँची । ऐरावती गाउँपालिका वार्ड नं. २ निवासी गोमा गुरुङ बिहानैदेखि काममा व्यस्त हुनुहुन्छ ।

खोरमा रहेका बाख्रा लाई दाना पानी र स्याहार गर्नमा उहाँलाई भ्याई नभ्याई छ । स्थानीय समुदायमा गठन भएको स्वावलम्बी समूहमा आबद्ध भएर बाख्रा पालन सम्बन्धी ज्ञान सिप पाएपछि व्यावसायिक रूपमै बाख्रा पाल्न थालेको गोमाले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ “व्यवस्थित रुपमा बाख्रा पालन गर्ने इच्छा थियो तर ज्ञान थिएन , परम्परागत रूपमै पाल्ने गरेका थियौ । गाँउमा समूह गठन भयो त्यसपछि आधारशिला, पशु व्यवस्थापन, समूह व्यवस्थापन जस्ता तालिम पायौ त्यसले बाख्रा पालनको तरिकासँगै जीवनशैली परिवर्तनको सुरुवात भएको महसुस भयो ।”

आधारशिला तालिमले जीवन व्यवहार परिवर्तनसँगै व्यावसायिकता लाई समेत समेटेकाले विगत बिर्सिएर वर्तमान र भविष्यलाई कसरी सहज बनाउने भन्नेमा ध्यान दिएको उहाँको भनाई रहेको छ ।

ऐरावती गाउँपालिका प्युठान, हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्ल रानी ग्रामीण विकास सरोकार केन्द्रद्वारा सञ्चालित परियोजना अन्तर्गत ज्ञान सिप सँगै उहाँले २ वटा माउ बाख्रा र व्यवस्थित खोर उपहार स्वरूप प्राप्त गर्नुभयो । जसले उहाँलाई हौसला प्रदान गर्‍यो । बाख्रापालन लाई उद्यमको रुपमा विकास गर्ने सङ्कल्प उहाँले लिनुभयो । 

वार्ड नम्बर २, सलेन्धारामा मा गठन भएको लालिगुँरास स्वावलम्बी समूह को अध्यक्ष समेत रहेर गुरुङले आफूसँगै समूहका सदस्यहरूलाई समेत व्यावसायिक बाख्रा पालन बाट स्वावलम्बी बनाउन प्रेरित गर्नुभएको छ । २५ जना सदस्य रहेको सो समूहका अधिकांश सदस्य अहिले बाख्रा पालनलाई मुख्य आम्दानीको रुपमा लिने गरेका छन् ।

बाख्राको खोर सफाई, घाँस विस्तार, सँगै व्यवस्थापन गर्ने विषयमा अहिले उहाँ निकै नै सचेत रहेको उहाँको कामबाट देख्न सकिन्छ ।

गोमासंगै उहाँको घरमा श्रीमान् र ३ छोरी रहेका छन् । श्रीमान् मौसमी कामका लागी भारत जाने गर्नुहुन्छ । घरमा भएसम्म श्रीमानको सहयोगसँगै ३ छोरीको साथले नै उहाँलाई सफल उद्यमी बन्न सघाएको छ ।

घरमा उत्पादित खसी बोका सहकारी मार्फत बजारीकरणको सुरुवात पनि उहाँले गर्नुभएको छ । हालचालै ५ वटा खसी सहकारी बाट बिक्री गरेको उहाँको भनाइ छ । व्यावसायिक बाख्रा पालन सँगै फुर्सदको समयमा गोमा सिलाई कटाई, बुटिक र किराना पसलको कामलाई समेत निरन्तरता दिनुभएको छ । त्यसबाट पनि थोरै धेरै आम्दानी भएको छ ।

घरायसी खर्च, लालनपालन, छोरीहरूको पढाई लेखाइसँगै धेरै थोरै बचत गर्न यहीँबाटै पुग्ने गरेको सुनाउँदै उहाँले वार्षिक रुपमा ४ देखि ५ लाख सम्म आम्दानी हुने गरेकोले परिवार पनि खुसि रहेको बताउनुभयो ।

९ वटा बाख्रा पाल्दै आउनुभएकी उहाँले समूहमा आबद्ध भएपछि बिस्तारै माउ बाख्रा बढाउँदै लैजानुभयो । अहिले ३३ वटा बाख्रा पुगेका छन् । आगामी दिनमा थप्दै जाने र श्रीमानलाई घरमै स्वरोजगार बनाउने उहाँको योजना रहेको छ ।

उमेरले ३७ बर्ष हुनुभएकी गोमा गुरुङ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । समूह सदस्यको घरमा भएका काम सामूहिक रुपमा गर्ने, गाउँ टोल सफाई गर्ने गाउँमा रहेका विभिन्न समूह,सहकारी, तथा समितिमा रहेर सामाजिक काम गर्ने र समाजलाई सही मार्गदर्शन गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button