भोजपुरमा ८७ मतदान स्थल र एक सय ५५ केन्द्र सिफारिस

भोजपुर । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ ।
निर्वाचन कार्यालयले शुक्रवार मतदान स्थल र केन्द्रका बारेमा पनि निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदान स्थल र एक सय ५५ मतदान केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मतदान स्थल र मतदान केन्द्रमा कुनै समस्या नभएको र पछि विशेष अवस्था देखिएमा पुन बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । उहाँले निर्वाचनका लागि यही अनुसार निर्वाचन आयोगलाई सिफारिस गरिने बताउनुभयो ।
मतदाता नामावली सङ्कलन गर्ने काम मङ्सिर ५ गतेबाट सकिएको र आगामी मङ्सिर २० गतेदेखि ३० गतेसम्म नामावलीमा त्रुटि सच्याउने र दाबी विरोधको समय राखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालय अहिले चुनावको तयारीमा लागि परेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको सिफारिस समितिको बैठकमा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारको उपस्थिति रहेको थियो । भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि एक वटा र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र छन् ।








प्रतिक्रिया राख्नुहोस्