मिटरब्याजी विरुद्ध भएको कारबाहीमा ७१ बिगाह जग्गा फिर्ता
वीरगञ्ज । पर्सा जिल्लामा मिटरब्याजी विरुद्ध भएका कारबाहीमा ७१ बिगाह भन्दा बढी जग्गा पीडितले फिर्ता पाएका छन् । त्यसैगरी, साहुको ६५ करोडभन्दा बढी माग दाबी रहेकामा ३२ करोड ३० लाख रुपैयाँभन्दा बढी मिलापत्र भई मिटरब्याजी पीडितले राहत पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, चैत्र २६ गते मङ्गलवार सम्म ५ सय ७८ सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त १ हजार ६ सय ६३ गरी कुल २ हजार २ सय २१ उजुरीमध्ये १ हजार ३ सय ३५ उजुरीमा मिलापत्र भइसकेको छ । तीमध्ये प्रशासनमा २ सय २० र जिल्ला प्रहरीमा १ हजार १ सय १५ उजुरीमा मिलापत्र भएको छ ।
कुल उजुरीमध्ये १ हजार १ सय ६ मा मेलमिलाप हुन बाँकी छ । दर्ता भएका उजुरीउपर छानबिन गर्दा १५ पुरुष र २ महिला गरी १७ जना आरोपित पक्राउ परेका छन् । आरोपित २९ जनाउपर मुद्दा दर्ता भइसकेको छ । पर्सामा बढीजसो कपाली तमसुक र दृष्टि बन्धकबाट पीडित भएकाहरूको उजुरी धेरै रहेको छ ।
सङ्ख्यात्मक रुपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास भट्टले दाबी गर्नुभयो । सामान्यतया मिटरब्याजीले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरदेखि तेब्बरसम्म बढीको बैक चेक धितोबापत राख्ने प्रवृत्ति पर्सामा रहेको छ ।
यस्ता अधिकांश घटनामा एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोब्बर तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैङ्कको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने गरेको पाइन्छ । यस्ता घटनामा पछि ब्याजको रकम पनि साँवामा गाभेर ब्याजको मिटर कुदाउने चलन छ ।
कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफै सम्पर्कविहीन भएकाले समेत उनीहरूको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको भट्टले बताउनुभयो । राजीनामा पास गरी पीडक भनिएका व्यक्तिलाई दिइसकेको जग्गा पीडितलाई फिर्ता गराउन समस्या हुने गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, अदालतबाट फैसला भइसकेका मुद्दामा पनि उजुरी पर्दा त्यसलाई प्रहरीले हेर्न नमिल्ने कानुनी जटिलता रहेको प्रवक्ता भट्टले बताउनुभयो । पीडकहरू आफू विरुद्ध उजुरी परे लगत्तै अदालतमा निषेधाज्ञाको रिट हाल्ने प्रवृत्तिले पनि उजुरी उपरको छानबिन प्रक्रियामा जटिलता आउने गरेको भट्टले दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्