सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि सरकार सक्रिय: मन्त्री गुप्ता

वीरगंज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आदिवासी, जनजाति, मधेशी र सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि सरकार ठोस नीति कार्यक्रमका साथ अगाडी बढिरहेको बताउनु भएको छ ।
पर्साको पोखरीया नगरपालिका बडा नम्बर–२ लमरियामा निर्माण गर्न लागिएको पक्की सडक सहित नालाको शिलान्यास पछि आज आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री गुप्ताले जनप्रतिनिधि हरुले इमान्दारीताका साथ काम नगर्दा मधेश विकासमा पछाडि परेको बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले जहिले पनि तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने छ तर, सरकारले तराई मधेशका जनताको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरी रहेको दाबी गर्नुभयो ।
उहाँले नाला र सडकका लागि भौतिक पूर्वधार विकास मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको बताउँदै सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
उहाँले तराई मधेशमा सीमा पारिको छिमेकी देशको भन्दा बढी विकासका गतिविधि अगाडी बढिरहेको दाबी गर्दै मन्त्री परिषदमा बारा पर्सा लाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सम्बन्धमा बहस चलिरहेको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने संवृद्धि हासिल गर्न समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रधुमन् चौहानले नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयबाट बजेट विनियोजन गराउन मन्त्री गुप्तासँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्