तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप: आयोजक अन्तिम चारमा

बारा । मोहित गुरुङको एकमात्र निर्णायक गोलको मद्दतमा आयोजक नवजनजागृति युवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकपको सेमी फाइनल यात्रा तय गरेको छ । 

हेटौँडाको टोली एन्फा मकवानपुरलाई अन्तिम समयमा स्तब्ध पार्ने क्रममा मोहितले खेलको ८५ औँ मिनटमा गोल गरेका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौँडाका गोलरक्षक टोपबहादुर रानाले बचाउको कुनै अनुमान समेत गर्न सकेनन् ।  

सिमरा रङ्गशालाको फ्लड लाइटमा उपस्थित करिब सात हजार दर्शकको समर्थन पाएको आयोजक सिमराले आकर्षक अवसरहरू बनाएपनि मकवानपुर विरुद्ध जित निकाल्न अन्तिमसम्मै सङ्घर्ष गर्नुपर्‍यो । 

पहिलो हाफमा मकवानपुरले आयोजक विरुद्ध सुरुवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे ।

खेलको १६ औँ मिनटमा मकवानपुरले अर्को अवसर गुमाएको थियो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोल लाइनबाट क्लियर गरे । 

खेलको १८ औँ मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुर रानामगरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए । 

खेलको ८० औँ मिनटमा आयोजक सिमराले आकर्षक अवसर गुमाएको थियो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रसबारमा लागेर बाहिरियो । डिबक्स भित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले सशक्त प्रहार गरेका थिए । 

खेलको ग्रिन इनर्जी म्यान अफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनी मोटर्सका दिलीप हमाल र ग्रिन इनर्जीका शैलेश साहले ट्रफि प्रदान गरेका थिए । 

आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । ८ टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button