तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने

पोखरा । पोखरामा भोलि (शनिबार) देखि केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा हुने केपी कपमा पोखरा महानगरपालिका सहित १६ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ ।

पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लबबिच हुने छ । दोस्रो खेल सिइसी क्रिकेट क्लब काठमाडौँ र हेटौडा एसएबिच हुने सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख छ ।

समूह ‘ए’ मा सिइसी काठमाडौँ, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् । समूह ‘सी’ मा लुम्बिनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएसन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् । 

यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो ।

३० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, वेस्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।

पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटन मार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ भने प्रतियोगितामा प्रवेश निःशुल्क रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button