तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा आजबाट ‘मधेस साहित्य महोत्सव’ सुरु

बीरगंज । वीरगन्जमा आजबाट ‘मधेस साहित्य महोत्सव’ सुरु भएको छ । 

उत्कर्ष नेपालको आयोजनामा वीरगन्जमा पहिलो पटक भइरहेको ‘मधेस साहित्य महोत्सव’ मा विभिन्न भाषाभाषीका साहित्यकार, कवि, सर्जक, लेखक, कलाकार, चित्रकार, विश्लेषकहरूको जमघट रहेको छ ।

‘मधेस साहित्य महोत्सव’ को पहिलो दिन आज वीरगन्जका स्थानीय कलाकारहरूले लोक वाद्य ‘खद्रुक’ को धुन बजाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । 

कार्यक्रममा ‘माटी, मन र मस्तिष्क’ विषयमा राजनीतिक विश्लेषक सिके लालले आफ्नो प्रस्तुती दिनुभएको थियो भने ‘माटोको सुगन्ध ः जीवनको रङ्ग’ विषयक प्यानल छलफलमा कृषि विज्ञ कृष्ण प्रसाद पौडेल, कृषि अगुवा लक्ष्मण थारु र सुदर्शन चौधरीले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।

त्यसपछिको सत्रमा नेपाल–अङ्ग्रेज बीचको युद्धमा मधेसको भूमिकाका बारेमा चर्चा गरिएको थियो । जसमा लेखक एवं पत्रकार मोहन मैनाली, विश्लेषक सञ्जय साह मित्र र राजेश चौधरीले नेपाल– अङ्ग्रेजबिचको युद्धमा मधेस र मधेसीले खेलेको भूमिकाको बारेमा ऐतिहासिक दस्ताबेज प्रस्तुत गर्नुभएको थियो ।

यस्तै ‘स्थानीय सरकार, उद्यम र शिक्षा’ विषयक छलफलमा डा.शिला मिश्र, प्रिती देव र रमेश ज्ञवालीले मधेसमा शिक्षा, उद्योग व्यापारको वर्तमान स्थितिका बारेमा तथ्यांकसहितको चर्चा गर्नुभयो  ।

मधेस विश्वविद्यालयको प्राङ्गणमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा स्थानीयले उत्पादन गरेका हस्तकलाका सामग्री, मधेसका रैथाने खानाका परिकार र चित्रकारहरूले कोरेका चित्रहरूको स्टल पनि राखिएको छ ।

‘मधेस साहित्य महोत्सव’ को दोस्रो दिन शनिबार पनि मधेसको भाषा, कला संस्कृति, साहित्यसँग जोडिएका विभिन्न विषयमा प्यानल छलफलका साथै साँझ साङ्गीतिक साँझ कार्यक्रम गरेर महोत्सवको समापन गरिने आयोजक उत्कर्ष नेपालका अध्यक्ष रितु राजले जानकारी दिनुभयो । 

दुई दिने महोत्सवमा तराई–मधेसका २२ वटै जिल्लाका साथै देशभरमा ख्याति कमाएका साहित्यकार, सर्जक र लेखकहरूको जमघट रहेको छ । 

मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगन्जमा पहिलो पटक ‘मधेस साहित्य महोत्सव’ आयोजना गरिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button