तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगरमा ताल: पोखरीको ठेक्का सम्झौता रकम नउठ्दा बिकास निर्माण प्रभावित 

सर्लाही । जिल्लाको चन्द्रनगर गाउँपालिका मातहतमा रहेका ताल ,पोखरीको ठेक्का सम्झौता रकम नउठ्दा विकास निर्माण प्रभावित भएका छन् ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार विभिन्न समयमा पालिका मातहत रहेका ताल पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्काको अवधि सक्किसक्दा पनि ठेक्का सकार गरेको रकम नबुझाउँदा पालिकाको बिकास निर्माण कार्य प्रभावित भएको हो ।

ठेक्का बापतको रकम बुझाउन दर्जानौ पटक ताकेता गर्दा पनि ठेकेदारहरूले रकम बुझाउन आनाकानी गरिरहेका अध्यक्ष महतोले बताउनुभयो । अध्यक्ष महतोका अनुसार ठेकेदारहरूले पालिकालाई  ३ करोड ४१ लाख १४ हजार ६ सय १५ रुपैयाँ ठेक्का बापतको रकम बुझाउन बाकी राखेको छ । जसमध्ये चन्द्रनगर गाउँपालिकाको मुटुमा रहेको नाढी तालको मात्र झण्डै १ करोड ८९ लाख ठेक्का बापतको रकम ठेकेदारले तिरेका छैनन् । तालको ठेक्का गाउँपालिकाकै वडा नम्बर ६ का दुलार मुखियाले लिएका छन् ।

पालिका का अन्य पोखरीहरू पनि  ३ करोड ४१ लाखमा ठेक्का लागेका छन् । पोखरीहरूको ठेक्का बापत  करिब करिब  २ करोड २७ लाख पालिकाले प्राप्त गरेको भएपनि अरू उठ्न सकेको छैन । ठेकेदारले समयमा रकम नबुझाउँदा सरकारले झन्डै १ करोड १४ लाख रुपैयाँ  राजश्वमा प्राप्त गर्न नसकेको अध्यक्षले पत्रकारहरूसंगको कुराकानीमा बताउनुभयो ।

“ठेक्का बापतको रकम बुझाउन हामीले उहाँहरूलाई पटक पटक पत्र पठायौँ, उहाँहरूले अटेर गरिरहनु भएको छैन,अध्यक्ष महतोले भने, । ताकेता गर्न थालेपछि उहाँहरूले पालिकालाई विभिन्न लालछजा लगाउँदै अख्तियारमा उजुरी गर्ने गर्नुभएको छ,” महतोले भन्नुभयो ।

चन्द्रनगर गाउँपालिका मातहत नाढी तालसहित दर्जन बढी पोखरी रहेका छन् । कतिपय पोखरीको ठेक्का बापतको रकम ठेकेदारले बुझाए पनि धेरै रकम उठ्न नसक्दा पालिकाको वडा नम्बर-२ पर्ति बजारमा निर्माण सम्पन्न भइसकेको १५ शय्याको गाउँ अस्पताल सञ्चालनमा ल्याउन नसकिएको,नाढी तालको सौन्दर्यीकरणमा काम गर्न नसकिएको अध्यक्ष महतोले बताउनुभयो ।

ठेकेदारहरूबाट पाउनु पर्ने पोखरी ठेक्काको बाकी रकम असुल उपर गरिदिन आफूले जिल्ला प्रशासन कार्यालयलाई समेत आग्रह गरेको पालिका अध्यक्ष महतोले बताउनुभयो । जिल्ला प्रशासनले पोखरी ठेकेदारहरूलाई  छलफलमा बोलाई बाकी बक्यौता तिर्न आग्रह गरेपनि ठेकेदारहरूले अटेर गरिरहेका छन् । 

६ करोड २० लाख रुपैयाँमा नाढी तालको ठेक्का लिएका दुलार मुखियाले ठेक्का लिएकै वर्षमा बाढीले बढीको माछा बगाएको,त्यसपछि कोरोना महामारीका कारण लकडाउन भएर  माछा बेच्न नपाएको कारण  आफूहरूले  गाउँपालिकालाई सम्झौता अनुसारको बाकी रकम तिर्न नसकेको बताउने गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । महतोका अनुसार उनीहरूले ठेक्का बापतको रकममा छुट मागिरहेका छन् ।

 पटक पटक ठेकेदारहरूले अटेर गरिरहेकाले कानुनी प्रक्रिया मार्फत रकम असुल उपर गर्न  गाउँपालिका अग्रसर भएको पालिका अध्यक्ष महतोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button