विश्वविद्यालयको जग्गा प्राप्तिको फायल अघि बढाउन प्रचण्डद्वारा मन्त्रीको ध्यानाकर्षण
बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरामा स्थापना हुने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई टेलिफोन गरी लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्ति सम्बन्धि फायल अगाडी बढाइदिन आग्रह गर्नु भएको छ ।
प्रचण्डले मन्त्री अधिकारी स्वयम लुम्बिनी प्रदेशवासी भएको बताउँदै विश्वविद्यालय निर्माणमा प्राथमिकता पाउने विश्वास ब्यक्त गर्नु भयो । मन्त्री अधिकारीले जग्गा सम्बन्धि फाइल मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अगाडी बढेको प्रचण्डलाई जानकारी गराउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सरकारबाट निर्णय भएको ३ वर्ष पछि खजुरा गाउँपालिका रहेको भवनमा साइनबोर्ड झुन्ड्याइएको छ । आव २०७६र२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले गरेको विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको ३ वर्ष पछि खजुरामा विश्वविद्यालयको साइनबोर्ड झुन्ड्याइएको हो ।
यस अघि १९ भदौ २०७९ मा खजुरामा विश्वविद्यालय सञ्चालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय सञ्चालन गरिएको थियो । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा १ सय १० बिघा जमिन लुम्बिनी प्रदेश प्राविधिक विश्वविद्यालयका लागि हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको भएपनि संघीय सरकारले त्यस सम्बन्धि निर्णय नगरिदिँदा विश्वविद्यालयको भौतिक निर्माणको काम रोकिएको छ ।
नेपालगन्जको डिभिजन बन कार्यालय परिसर भित्र सञ्चालनमा आएको विश्वविद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय १ वर्ष अघि खजुरामा नै सञ्चालन गर्ने निर्णय गरिएपनि अहिले सम्म सञ्चालन हुन सकेको छैन । खजुरा गाउँपालिका रहेको साबिकको भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरि निर्णय भएको १ वर्ष सम्म पालिकाले ठाउँ खाली नगरिदिँदा विश्वविद्यालयको कार्यालय खजुरामा आउन नसकेको हो ।








प्रतिक्रिया राख्नुहोस्