तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिकुल मौसमका कारण लुक्लाको उडान प्रभावित 

सोलुखुम्बु । पर्यटकीय सिजन शुरु भइरहेको बेला दुई दिनदेखि लगातार मौसममा खराबी आएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएको छ । 

स्वदेशी तथा बिदेसी पर्यटक र अन्य यात्रुहरू लिएर त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेका विभिन्न एयरलाइन्सका हवाईजहाज अवतरण गर्न नसकेपछि फाप्ली विमानस्थलमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

बिहीबारबाट मौसम प्रतिकुल बनेपछि हिमाली पर्यटनको केन्द्रका रुपमा रहेको खुम्बु क्षेत्रको भ्रमणका लागि आउने पर्यटक समस्यामा परेका छन् । लुक्लामा तारा, समिट र सीता एयरलाइन्सको करिब ३० देखि ४० वटा उडानको दैनिक तालिका रहेकोमा शुक्रबार कुनै उडान नभएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो ।

बिहीबार आंशिक रुपमा प्रभावित बनेको उडान शुक्रबार ठप्प भएको अफिसर झाले बताउनुभयो । उहाँकाअनुसार हेलिकप्टरले चाहिँ उडान गरिरहेको छन् । हवाई उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आवतजावत गर्ने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । 

सिजनको सुरुमा नै आउने पर्यटकहरू अलपत्र परेको पर्यटन व्यवसायीहरूको भनाइ छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी अत्यन्त न्युन रहेकोले हवाईजहाज उडान तथा अवतरण हुन नसकेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button