भोजपुरमा मेयर कप महिला फुटबल सुरु
भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर सदरमुकाममा बुधवारबाट सातौं संस्करणको मेयर कप महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।

भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सुरु प्रतियोगितामा भोजपुरका दुईसहित छ वटा महिला टिमको सहभागिता रहेको छ । पहिलो खेल धनकुटा नगरपालिका र मोर्डन इरा विराटनगरबिच भएको छ । जसमा धनकुटा नगरपालिकाले मोर्डन इरा विराटनगरलाई २–० गोलले पराजित गरी अर्को चरणमा प्रवेश गरेको छ ।
दोस्रो खेल खाँदीबारी नगरपालिका र कनकाई झापा बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले रेफ्रीलाई बल दिएर उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्