विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयतालाई ध्यान दिन पूर्वमन्त्री शर्माको आग्रह

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सक्न र गुणस्तरीयतालाई ध्यान दिन सम्बन्ध पक्षलाई आग्रह गर्नुभएको थियो ।
दाङ क्षेत्र नं २ मा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उहाँले आफ्नो ठाउँको विकासका लागि स्थानीयवासीले योजना माग गरेजस्तै अब समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका योजनाको अनुगमन गर्नुभयो । उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडक, घोराही १३ मा निर्माणाधीन भूपू सैनिक सङ्गठनको बहुउद्देश्यीय भवन र घोराही १८ मा निर्माणाधीन नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन र घोराही १४ झिंगौरास्थित हरियाली पार्कको पनि उहाँले अनुगमन गर्नुभयो । यहाँ पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत रु ५३ लाखमा पर्खाल निर्माण भइरहेको छ । पार्कभित्र निर्मित सहिदहरूको प्रतिमाको तीन वर्ष अघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनःनिर्माण गरिने छ ।
अनुगमनका क्रममा उहाँले सडक विभाग, सघन सहरी कार्यालयलगायत विकास योजना हेर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गर्नुभएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्