तपाईँ सुन्दै हुनुहुन्छः

सेती लोकमार्गको भोगाधिकार र रुख कटान आदेश दिने सहमति

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोगाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ ।

आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा. दीपक खराल लगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोगाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो ।

मन्त्री शाही ठकुरी, पूर्वमन्त्री आले र सचिव डा. खरालबीच छलफलपछि सेती लोकमार्ग निर्माणका लागि आवश्यक पर्ने भोगाधिकार र रुख कटानको आदेश दिने सहमति भएको वन तथा वातावरणमन्त्री शाही ठकुरीको सचिवालयले जनाएको छ ।

यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोगाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाउनु भएको थियो । सोही कारण आजको छलफल महत्वपूर्ण मानिएको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयले भोगाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको पूर्वमन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “भोगाधिकार र रुख कटान आदेश नदिँदा उक्त लोकमार्गको काम ठप्प भएको थियो । आजको छलफलपछि सो आदेश दिने सहमति जुटेपछि अब उक्त सडक निर्माणको काम सुचारु हुनेछ ।”

सेती लोकमार्गको भोगाधिकार र रुख कटान आदेश दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ जिल्लाका जनतामा खुसीयाली छाएको छ । स्थानीयवासीले सडक निर्माण कार्य अगाडि बढ्ने कुराले यातायात तथा आर्थिक विकासमा टेवा पुग्ने आशा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button