चैत्र १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यही चैत्र १० गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको बैठकले समसामयिक राजनीतिक, पार्टी सञ्चालन लगायतका विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकमा राजावादीहरूको पछिल्ला गतिविधिबारे सामान्य समीक्षा भएको र अहिलेको व्यवस्था तथा संविधानको रक्षाको लागि सम्पूर्ण रूपमा क्रियाशील हुने निष्कर्ष आएको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो ।
सर्वदलीय सरकार बनाउने विषयमा चलिरहेको चर्चाबारे सञ्चारकर्मीको एक जिज्ञासामा काँग्रेसका प्रवक्ता डा. महतले सर्वदलीय सरकारबारे कुनै छलफल नभएको र प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र लगायतका दलहरू अहिलेकै संविधानका पक्षधर रहेकाले संविधानको रक्षाका लागि एकै ठाउँमा रहेको पनि स्पष्ट पार्नुभयो ।
सरकारको काम कारबाहीबारे केही कमीकमजोरी हुन सक्ने तर त्यसलाई सुधारेर अघि बढ्ने काम जननिर्वाचित प्रतिनिधिहरूकै भएकाले आवश्यकता र औचित्यका आधारमा सुधार गर्दै कार्यसम्पादन गर्दै जाने पनि पार्टी प्रवक्ता डा महतले बताउनुभयो ।
यस्तै बैठकमा केही ठाउँमा स्थगित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथाशीघ्र गराउनुपर्ने माग समेत उठेको पार्टीले जनाएको छ ।
यस्तै काँग्रेस पदाधिकारी बैठकमा पार्टी नेता एवं गृहमन्त्री रमेश लेखकले राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्