तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल आरम्भ

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा विधेयकको प्रस्तावनामाथि छलफल भएको छ । 

छलफलमा भाग लिँदै सांसदहरु चन्द्र भण्डारी, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, तोषिमा कार्की, दीपा शर्मा, सरिता भुषाल र ईश्वरी जिएम लगायतले प्रस्तावनाले विधेयकको सम्पूर्ण सार संक्षेपलाई समेट्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले  निःशुल्क र अनिवार्य शिक्षाको मर्मअनुसार, समाजवाद उन्मुख शिक्षाका लागि, समान पहुँच र भेदभाव रहित शिक्षाका लागि र संविधानको दफा नै उल्लेख गरेर प्रस्तावना संशोधन गरिनुपर्ने संशोधन प्रस्ताव पेश गर्नुभयो । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य र निःशुल्क शिक्षाको मर्मलाई विधेयकको प्रस्तावनाले समेट्नुपर्ने बताउनुभयो । 

बैठकले विधेयको प्रस्तावनालाई अन्त्यमा टुङ्ग्याउने गरी अघि बढ्ने निर्णय गरेको छ ।  

समितिका सभापति अम्बरबहादुर थापाले अब दैनिक रुपमा विधेयकमाथि दफावार छलफल हुने गरी कार्यतालिका बनाएर अघि बढ्ने र एक महिनाभित्र विधेयक समितिबाट पारित गर्ने गरी छलफल गरिने बताउनुभयो । 

विद्यालय शिक्षा विधेयकको प्रस्तावनामाथि २१ जना सांसदको संशोधन रहेको छ ।  

समितिको आजको बैठकले यही चैत सात गतेबाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई उत्साहपूर्वक सहभागी हुन आह्वान पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button