तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार एसइई परीक्षाको प्रक्रियाबाट अलग भएको मुख्यमन्त्रीको घोषणा

जनकपुरधाम । मधेस सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले एसइईको परीक्षा सुधारका लागि गरेको प्रयासका विरुद्धमा शिक्षा विकास तथा समन्वय इकाईहरूले सहयोग नगरेको भन्दै परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिर भएको बताउनुभएको छ ।

oplus_2

मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले ८ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय कार्यालय र सुरक्षा निकायहरूको सहभागितामा भएको बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षाबाट बाहिर भएको बताउनुभयो ।

उहाँले एसइईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि गलत क्रियाकलापको साक्षी बन्नका लागि अनुगमन सहितका अन्य कार्य नगर्ने बताउँदै परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।  

मुख्यमन्त्री सिंहले मधेशको शिक्षाको स्तरमा सुधारका लागि र विद्यालयमा पठन पाठनको वातावरण निर्माण गर्न अहिलेको चिट चोर्ने तथा चोराउने वातावरणको अन्त्य नभएसम्म कठिन हुने भएकाले संघीय शिक्षामन्त्री विद्या भट्टराईले हिजो दिनुभएको निर्देशन इकाईका प्रमुखहरुले उल्लङ्घन गरेको बताउनुभयो ।

प्रदेश सरकारले केन्द्राध्यक्षको चयन गोला प्रथाबाट हुनुपर्ने र केन्द्रमा फेला परेको मोबाइल जफत गर्ने निर्णय गरेको भए पनि त्यस विपरीत केन्द्राध्यक्ष खटाउने काम भएको बताउनुभयो । शिक्षाको गुणस्तर सुधारका लागि मर्यादित परीक्षा बनाउनुको कुनै विकल्प नभएको मुख्यमन्त्रीले बताउँदै शिक्षाको हब रहेको मधेशलाई बिगार्ने काम यस्तै कार्यले भएको दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेशको शिक्षा सुधारका लागि प्रदेश सरकारले गरेको प्रयास कार्यान्वयन नभएपछि प्रदेश सरकार परीक्षाको साक्षी बन्न जरुरी नभएकाले अलग हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button