तपाईँ सुन्दै हुनुहुन्छः

श्रीसिया सुक्खा बन्दरगाहबाट २० हजार टन कच्चा तेल भित्रियो

वीरगञ्ज । भारतको कोलकत्ता बन्दरगाहबाट पहिलो पटक सोयाबिन तेलको कच्चा पर्दाथ बोकेको ‘ट्याङ्क कन्टेनर’ वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ । 

बारा जितपुरमा रहेको शिवशक्ति तेल उद्योग प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ  बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा भित्रिएसँगै भन्सार पास गरी सम्बन्धित उद्योगलाई जिम्मा लगाइएको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिनुभयो । 

गत आइतबार कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको थियो । २० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट कोलकत्ता हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाहबाट नेपाल भित्रिएको हो ।

सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत भएको शिव शक्ति समूहका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले बताउनुभयो । 

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेको थियो । १६ असार २०८० देखि लुज कार्गो (कोइला) आउन थालेको थियो । 

तेस्रो मुलुकबाट खरिद गरिएको कच्चा तेल कोलकात्ताको बन्दरगाहमा अलपत्र पर्दा नेपाली उद्योगलाई वर्षेनी करोडौँ रुपैयाँ विलम्ब शुल्क र डिटेन्शन शुल्क तिर्नुपर्ने बाध्यता खेप्दै आएका नेपाली व्यवसायीलाई यसबाट ठूलो राहत पुग्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button