तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रीद्वारा युक्रेनका विदेश मन्त्रीसँग वार्ता

युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेश मन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरूमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गर्नुभएको थियो ।

नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरू मार्फत् नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा राणाले रुसी सेनामा कार्यरत ती सात नेपाली युद्ध बन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गर्नुभएको हो ।

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उहाँले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेश मन्त्रीसँग आग्रह गर्नुभयो ।

युक्रेनी विदेश मन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भेटका क्रममा मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि युक्रेन सरकारसँग आग्रह गर्नुभयो ।

यसैबीच भेटका क्रममा दुई देशबीच सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button