तपाईँ सुन्दै हुनुहुन्छः

पानीजहाज विधेयक २०८१ बारे सरोकारवालाहरूसँग छलफल

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ बारे सरोकारवालाहरूसँग छलफल गरेको छ ।

समितिको आज बसेको बैठकमा प्रकृतिको संरक्षण गर्दै दिगो पर्यटन विकासलाई ध्यानमा राखेर वातावरणमैत्री विकास गर्ने गरी अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभयो ।

विकास योजना बनाउँदा मापदण्डका आधारमा अनुसन्धान गरेर मात्रै गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताउनुभयो ।

पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउँदा नेपालका कुन कुन नदीमा सञ्चालन गर्न सकिन्छ भन्ने सम्भाव्यता अध्ययन गर्नुपर्ने र यसले अन्तर्राष्ट्रिय रुपमा नेपाललाई जोड्ने भएकाले अन्तर्राष्ट्रिय कानुनलाई पनि ध्यान दिएर कानुन निर्माण गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिनुभयो ।

समितिका सांसदहरुले भूपरिवेष्टित मुलुकहरूले पनि समुद्रमा पहुँच पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कानुन रहेको र त्यसको उपयोगका लागि पनि नेपालले कानुन बनाउन लागेको भन्दै यसबाट अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन र यात्रु तथा मालसामान ओसारपसारका लागि सहज हुने बताउनुभयो ।

सांसदहरुले हाल देशमा चलिरहेका मोटर बोटहरूको नियमनका लागि पनि कानुन आवश्यक रहेको बताउँदै सरोकारवालाहरूसँगको छलफलबाट आएका सुझावहरूले कानुनलाई थप समृद्ध बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button