तपाईँ सुन्दै हुनुहुन्छः

‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।

उपभोक्ता समितिका अध्यक्ष करुणा रत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धि नरसिंह मल्लले पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ । 

उहाँ भन्नुहुन्छ, “रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकाले हाल तामाको छाना लगाउँदैछौँ ।”

हाल कुल लागत रु २८ लाख ९८ हजार ८७९ मा आगामी वैशाखमा काम सक्नेगरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बाग्मती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत रु २५ लाख ९६ हजार १५१ बजेट  छभने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु तीन लाख दुई हजार ७२७ व्यहोर्ने भएको छ । 

ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पु(याउने गरेको र झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नु परेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताउनुभयो ।

नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button