तपाईँ सुन्दै हुनुहुन्छः

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पद ग्रहण गरेसँगै सरकारको तर्फबाट उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहमन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिपक थापालाई ३१ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधि पूरा गरी गएराति बिदा भइसक्नुभएकाे छ । थापाले आजदेखि कार्यभार सम्हाल्नेहुनेछ।

कार्यभार सम्हाल्ने क्रममा थापाले आज बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जहरूको उपस्थिति हेडक्वार्टरमा अनिवार्य गरनुभएकाे छ।

थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट आफ्नो प्रहरी जीवन सुरू गर्नुभएको थियो। उहाँ भक्तपुरका बासिन्दा हुनुहुन्छ । २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जन्मिनुभएका थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, र जनप्रशासनमा एमपीएको अध्ययन गर्नुभएको छ।

उहाँले डीएसपी र एसपीको रूपमा रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवन जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी बहन गर्नुभएको थियो । साथै, उहाँले बागमती प्रदेश प्रहरी र उपत्यकास्थित प्रहरी कार्यालयको नेतृत्व र प्रहरी वृत्त महाराजगञ्ज र सीआईबीमा कमाण्डको अनुभवसमेत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button