मौरी पालन व्यवसायबाट मनग्य आम्दानी
बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीका नरजित रावलले गाउँमै मौरी पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ।
दुर्गम र भौगोलिक रूपमा विकट मानिने पांडी गाउँमै एक सय घार स्थानीय जातको मौरी पालन व्यवसायबाट उहाँले वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो।
चौध वर्षको उमेरमा मौरी पालन पेशामा लाग्नुभएका रावल अहिले ६९ वर्षका हुनुहुन्छ। घरमा परम्परागत रूपमा बाजे र बुवाले पनि मौरी पालन व्यवसाय गरेकाले त्यसबाट प्रभावित भएर उहाँले पनि यो व्यवसाय सुरु गर्नुभएको बताउनुभयो।
परम्परागत मुडाबाट निर्मित करिब एक सय भन्दा बढी मौरी घारमा उत्पादन हुने मह अर्ग्यानिक र जडिबुटीयुक्त हुने र ग्राहक खरिद गर्न घरमै आउने हुँदा बिक्री वितरणमा निकै सहज भएको र पछिल्लो समय विदेशमा पनि महको माग बढेको रावलले बताउनुभयो।

मह वार्षिक दुई पटक निकाल्न मिल्ने भएकोले रावलले वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्दै, गाउँमै व्यवसाय गरेर केही गर्न सकिन्छ भन्ने युवाका लागि प्रेरणा बन्नुभएको छ।
सरकारी निकायबाट आधुनिक मौरी पालन तालिमको व्यवस्था गरिदिएको खण्डमा मौरी पालन व्यवसायलाई थप वृद्धि गर्ने र गाउँका अरु युवालाई समेत रोजगारी दिने रावलको चाहना छ।
बाजुराका हिमाली, खप्तड, छेडेदह, गौमुल गाउँपालिका तथा बडिमालिका, त्रिवेणि र बुढिनन्दा नगरपालिकाका अधिकांश किसानहरूले घरमा अनिवार्य रूपमा १/२ घार मौरी पालन गर्ने गरेका छन्, तर व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानको संख्या भने न्यून रहेको छ।
प्रतिक्रिया राख्नुहोस्