तपाईँ सुन्दै हुनुहुन्छः

आठ महिनामा ५ सय ९ जना फरार प्रतिवादी पक्राउ

नवलपरासी पश्चिम् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आठ महिनाको अवधिमा विभिन्न मुद्दाका चालू आर्थिक वर्षमा हालसम्म ५ सय ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालत परासीले दोषी ठहर भई सजाय निर्धारण गरेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । 

प्रहरीले फागुन महिनाको अवधिमा मात्रै २० जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका केही प्रतिवादीहरू २० वर्ष देखि फरार  भएकाहरू समेत रहेको प्रहरीले जनाएको छ ।

अदालतको फैसला भएको २० वर्षको अवधिसम्म पनि फरार भएका कारण सजाय भुक्तान हुन बाँकी २३ जना, १५ वर्ष देखि फरार ३ जना १० वर्षदेखि फरार १० जना, ५ वर्षदेखि फरार ३ जना र ५ वर्ष भन्दा कम अवधिदेखि फरार रहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सजाय भुक्तानका लागी अदालतमा पेश गरेको छ। जसबाट ३ लाख २० हजार जरिवाना र कुल २२ वर्ष ४ महिना सजाय कैद असुलउपर भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रहरीले अदालतले दोषी ठहरेका फरार प्रतिवादीहरूलाई पक्राउ अभियान नै चलाएर चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ५ सय ९ जनालाई पक्राउ गरेको पन्तले बताउनुभयो ।

प्रहरीको तथ्याङ्क अनुसार १ करोड ५३ लाख ८१ हजार जरिवाना र १ सय ३३ वर्ष १० महिना ६ दिन कुल सजाय असुलउपर भएको छ । यसैगरी प्रहरीले फागुन महिनाभरको अवधिमा ३३ लाख ३६ हजार राजश्व समेत सङ्कलन गरेको छ । भारतबाट अवैध रूपमा भित्रिएको किराना समान जफत गरेर ११ लाख ९० हजार, लत्ताकपडा बाट ४ लाख ८८ हजार, चल्ला कुखुरा तथा माछाको अवैध आयात नियन्त्रणमा लिएर ८ लाख ६० हजार, अन्य समानबाट ८ लाख ५६ हजार राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।  

खुला सिमाका कारण अवैध ओसारपसार नियन्त्रण चुनौती बन्दै गइरहेको छ भने राजस्व सङ्कलनमा समेत ह्रास आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button