डडेल्धुरामा निःशुल्क परिवार नियोजन शिविर सञ्चालन
डडेल्धुरा । डडेल्धुरामा निःशुल्क परिवार नियोजन शिविर सञ्चालन भइरहेको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो नेपालको सहयोगमा सन्तानको रहर पुरा भएका पुरुष तथा महिलाहरूलाई लक्षित गरि निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा ल्याइएको हो । अनुभवी डाक्टरद्वारा महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन अधिकृत भवानसिंह कुँवरका अनुसार शिविर चैत १ र २ गते डडेल्धुरा अस्पताल, चैत ४ गते आलिताल स्वास्थ्य चौकी गोदाम र चैत ५ गते जोगबुडा अस्पतालमा सञ्चालन हुनेछ । उनले सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोध समेत गर्नुभएको छ ।
शिविरमा महिलाहरूका लागि पाखुरामा राख्ने इम्प्लान्ट सेवा र पाठेघरमा राख्ने आईयूसीडी सेवा उपलब्ध गराइने जनाइएको छ । मिनील्याप गर्न आउने महिलाहरूले खाना, नास्ता केही नखाई भोको पेट र एकजना आफन्त साथमा लिएर आउन समेत कुँवरले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्