तपाईँ सुन्दै हुनुहुन्छः

कानुनी परिधिभित्र रहेर होली मनाउन अछाम प्रशासनको अनुरोध

अछाम । अछाम प्रशासनले फागु पूर्णिमाको अवसरमा सम्पूर्ण शुभकामना व्यक्त गर्दै पर्व मनाउँदा कानुनी परिधिभित्र रहन अनुरोध गरेको छ । 

प्रशासनले सूचना जारी गर्दै होली, फागु पर्व, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लासमय चाड भएकोले सभ्य र मर्यादित रूपमा मनाउनुपर्नेमा विशेष जोड दिइएको छ । व्यक्तिको इच्छा विपरीत जबरजस्ती रङ्ग दल्ने, हानिकारक रसायनयुक्त पदार्थ छ्याप्ने, बाटो ढुकेर अपरिचित वा बटुवालाई रङ्ग लगाउने, फोटो खिच्ने तथा दुर्व्यवहार गर्ने कार्य निषेध गरिएको छ । यस्ता कार्यले सार्वजनिक शान्ति, सुरक्षा र सौहार्दता खलल पुर्‍याउने भएकाले कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

यसका साथै, प्रशासनले मदिरा सेवन गरी अशान्ति फैलाउने कार्य नगराउन आग्रह गर्दै, पर्वलाई सभ्य रूपमा मनाउन सबै नागरिकलाई अनुरोध गरेको छ ।  यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालद्वारा जारी गरिएको सूचनाले शान्ति र सद्भाव कायम गर्दै होली/फागु पर्व उल्लासमय र मर्यादित रूपमा मनाउन सबैलाई प्रेरित गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button