तपाईँ सुन्दै हुनुहुन्छः

जितका लागि नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । उसका लागि यास्मिन खानले ४४ बल खेल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन । 

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक÷एक  विकेट लिए । 

प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।  

जारी प्रतियोगितामा नामिबियाले नेपाललाई यसअघि  पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button