समुद्रमा नेपाली झन्डावाहक पानीजहाज चल्ने बाटो खुल्यो

काठमाडौँ । कुनै बेला नेपालजस्तो भूपरिवेष्टित देशमा राष्ट्रिय ध्वजाबाहाक पानीजहाज चलाउने कुरा कल्पनामै सीमित थियो। तर अहिले नेपाली नदीनालादेखि विदेशी समुद्रहरूमा समेत कानूनी रूपमै पानीजहाज चलाउन सकिने बाटो खुलेको छ । नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नै राष्ट्रिय झन्डावाहक पानीजहाज चलाउने सपना देखेको पाँच वर्षपछि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पानीजहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ आइपुगेको छ । यो विधेयक संसद्का दुवै सदनबाट पारित भएर कानुन बनेमा सरकारी र निजी दुवै क्षेत्रबाट नेपालले पानीजहाज सञ्चालन गर्ने कानूनी बाटो तयार गरेपछि विश्वका विभिन्न देशमा पुगेर पानीजहाजमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर आउने नेपाल पानीजहाज कार्यालयका कायममुकायम रजिस्टार मणिराम भुषालले बताउनुभयाे ।
त्यसो त २०२७ सालमा नेपाली पानीजहाजलाई विदेशी बन्दरगाहमा सञ्चालन गर्न पानी जहाज दर्ता ऐन जारी गरिएको थियो । त्यही ऐनकै आधारमा व्रिट्रिस कम्पनीसँग नरेन्द्रलक्ष्मी नाम दिइएको जहाज पनि खरिद कलकत्तासम्म ल्याइएको थियो । तर त्यसले काम सुरु गर्नै पाएन । सामुद्रिक मार्ग नभएको नेपालमा पानीजहाजको चर्चा गर्दा उडाउने गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो चोटि प्रधानमन्त्री हुँदा नेपालमा पानीजहाज कार्यालय नै स्थापना गरी काम अगाडि बढाएको थियो । खिसिट्युुरटी गर्नेहरू धेरै थिए तर अब कानून बन्ने भएपछि त्यसले केही भ्रम चिरेको छ । पानीजहाज कार्यालयमा दर्ता गरि अनुमति पत्र लिएर पानीजहाज सञ्चालन गर्न सकिनेछ । सञ्चालन अनुमति पत्र पाएपछि पानीजहाजको नाम दिइने र सञ्चालन हुने प्रत्येक व्यापारिक पानीजहाजमा नेपाली राष्ट्रिय झन्डा राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । नेपालका जलमार्गमा यात्रु र ढुवानीको भाडा पनि सरकारले तोक्ने गरि कानुन बनाउन विधेयकले प्रस्ताव गरेको । लगभग असम्भवजस्तै देखिएको पानीजहाज सञ्चालन गर्न धेरै नेपालीहरू ऐन कुरेर बसेका छन् । नेपाल पानीजहाज कार्यालयका कामु रजिस्टार भुषाल अर्थतन्त्रको नयाँ आयामका रुपमा रहेको पानीजहाज व्यवसायले धेरैलाई रोजगारी दिन सक्ने बताउनुहुन्छ । कामु रजिस्टार भुषाल पानीजहाज सञ्चालन गर्न सक्दा ४० हजार युवाले रोजगारी पाउन सक्नेछन् ।
नेपालका कैयौँ नदी र तालहरूमा हाल सञ्चालनमा रहेका मोटरबोट र फेरि नियमन गर्ने कानुन नहुँदा दर्तादेखि बिमासम्मका समस्या छन् । पर्यटकीय हिसाबले सञ्चालन भइरहेका त्यस्ता मोटर बोटहरू छिटो छरितो यातायातका साधान समेत हुन सक्छन् । अहिले पनि नारायणी, कोशी, भरत ताल लगायतका कैयौँ स्थानमा मोटरबोट सञ्चालनमा छन् । त्यसलाई जल यातायातका रुपमा विकास गर्न र अन्तर्राष्ट्रिय समुद्रहरूमा पानीजहाज चलाउन यो विधेयक ऐतिहासिक हुने बताउनुहुन्छ कानुनविद् एवम् पूर्वमन्त्री माधवप्रसाद पौडेल । उहाँ हाल नेपाली नदी नालाबाट सुरु गी निकट भविष्यमै नेपाली ध्वजाबाहक जहाज चलाउन सकिने बताउनुहुन्छ ।
नेपालमा हाल ४ वटा पानीजहाज निर्माण कम्पनी छन् भने नेपाली नदीनालामा चल्ने ९० प्रतिशत पानीजहाजहरू नेपालमै बनेका छन् । कानून बनेपछि नेपालले जहाज बनाएर निर्यात गर्ने अवसर पाउनुका साथै जल यातायातबाट छिटो र सुलभ यात्रा र ढुवानीका लागि यो कानून ऐतिहासिक हुने देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्