तपाईँ सुन्दै हुनुहुन्छः

साझा लेखन पद्धतिको लागि नयाँ फन्ट

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठाको पहलमा नेपालमा बोलिने सबै भाषामा साझा लेखन पद्धतिको लागि नयाँ फन्ट ल्याइएको छ ।

प्रतिष्ठाले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधार कलाकार रमेश पौडेलले “दुबो” नामक फन्टको डिजाइन गर्नुभएकाे हाे ।  सो फन्ट डिजाइनका लागि ३ महिना अघि प्रतिष्ठानको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबिच भएको सम्झौता भएको थियो । सम्झौता अनुसार पौडेलले मङ्गलवार सो फन्ट हस्तान्तरण गर्नुभएकाे हाे ।

मङ्गलवार प्रतिष्ठानको सभाकक्षमा प्रस्तावित फन्टका विषयमा विज्ञ भाषाविद्काबिच फन्टको प्रस्तुतीकरण र छलफल  भएको थियो । भाषाविद् प्रा. डा. माधव पोखरेलले प्रस्तावित “दूबो” फन्टले नेपालमा बोलिने धेरै भाषाहरूको लिपि नभएकोले लेखन पद्धतिमा देखिएको समस्या समाधान हुने बताउनुभयो । प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्य प्रतिष्ठानकै दायित्व भएकोले विज्ञ कार्यदलको सहयोगमा नयाँ फन्टको सिर्जना गरिएको बताउनुभयो । प्रतिष्ठाका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले मेहनतका साथ प्रतिवेदन तयार पार्ने कार्यदल र दुबो फन्ट डिजाइन गर्ने पौडेललाई धन्यवाद दिनुभयो ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो ।  कार्यदलका संयोजक डा. अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो  । कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टको विशेषताका बारेमा प्रस्तुतिसहित विशेषताका बारेमा जानकारी दिनुभयो । फन्ट सिर्जना गर्ने आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले २२४ क्यारेक्टर रहेको “दुबो” फन्ट देवनागरी र युनिकोडभन्दा फरक ले आउट भए पनि प्रयोगमा ल्याउन सजिलो रहेको बताउनुभयो । प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा.कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा.सूर्यप्रसाद यादव, राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासा सहित टिप्पणी गर्नुभएकाे थियो ।

अध्ययन कार्यदलमा संयोजकमा डा. अमृत योञ्जन तामाङ, संयोजक, डा. विष्णुकुमार सिंजाली सह संयोजक । सदस्यहरूमा प्रा. भीमनारायण रेग्मी, डा. तारामणि राई, अम्बरजङ लिम्बु, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी हुनुन्थ्यो। कार्यदलले तयार पारेको प्रतिवेदन २४६ पृष्ठको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button