मिटर ब्याजी पीडित व्यक्तिद्वारा आत्मदाहको प्रयास
वीरगञ्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा मिटर ब्याजी पीडित एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

बाराको पचरौता नगरपालिका–४ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–२४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोर प्रसाद साहले जिल्ला प्रशासन कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन् ।
१२.३० बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय परिसरभित्र ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगो लगाउनबाट रोक्न सफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
किटनाशक विष समेत सेवन गरिसकेका साहलाई तत्काल उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
मिटर ब्याजी पीडित साहलाई प्रहरीले न्याय दिन नसकेको भन्दै उनले आत्मदाहको प्रयास गरेको खुल्न आएको छ । उनको साथमा भेटिएको एक पत्रमा एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको तर आफूले जग्गाको पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको विषयमा प्रहरीले पनि साथ नदिएको र आफूले सोही कारण आत्मदाहको बाटो रोजेको उल्लेख छ ।
घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएको र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको बताउनुभयो ।
साहले आत्मदाहको प्रयास गरिरहेका समयमा जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्