करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागी उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुने गरि विधेयक अघि बढाएको छ ।
सरकारले प्रदेशको स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ मा त्यस्तो व्यवस्था गर्न लागेको हो ।
अहिले उक्त विधेयक छलफलको चरणमा रहेको छ । प्रदेश सरकारले चाडै उक्त विधेयक प्रदेश सभाका दर्ता गर्ने तयारी गरेको बुझिएको छ । प्रदेश लोक सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्दै आएको छ ।
प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीको हकमा एक पटकका लागि उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न लागिएको र उक्त विधेयक सबैलाई लाभ पुग्ने गरि आउने जनाएको छ ।
यो विधेयक पारित भएमा प्रदेश लोकसेवा आयोगले स्थायी दरबन्दी पदपूर्ति गर्ने खुला प्रतिस्पर्धामा अस्थायी र करार सेवामा कार्यरत सबै कर्मचारीलाई स्थायी पदमा प्रतिस्पर्धा गर्न बाटो खुल्ने छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ माथी छलफल भएको बताउनु भयो । उहाँले विधेयकका सम्बन्धमा सत्ता गठबन्धन दलका नेताहरू र विषयगत समितिका सभापति तथा सम्बद्ध निकायका पदाधिकारी लगायतसँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
‘अहिले विधेयक छलफलको चरणमा छ, एक दुई दिन भित्रै प्रदेश सभामा दर्ता हुन्छ, प्रदेश सरकार उक्त विधेयकलाई लिएर गम्भीर र संवेदनशील छ, बाहिरी प्रचार गरिएजस्तो विधेयक छैन, अनावश्यक हल्ला फैलाइएको छ, मुख्यमन्त्रीले भन्नुभयो ।’
अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुने गरि विधेयक आउने उहाँले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्