कृषि उत्पादनमा महिलाको योगदान ४१ प्रतिशत
जनकपुरधाम । नेपालको कृषि क्षेत्रमा महिलाको योगदान ४१ प्रतिशत भए पनि महिलाको कृषि उत्पादन तथा भूमि माथिको स्वामित्व निक्कै कमजोर रहेको पाइन्छ । नेपालमा भूमि माथिको स्वामित्वको अधिकार महिलालाई २० प्रतिशत मात्र रहेको पाइन्छ ।

“सबै महिला र छोरीहरूको अधिकार : समानता र सशक्तीकरणको हकदार” मूल नारासहित अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा नेपालको कूल जनसङ्ख्यामा २५ प्रतिशत महिलाहरू अहिले पनि गाउँमा नै बस्ने गरेको जानकारी दिइयो ।
मधेश प्रदेश सरकार र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा कृषि क्षेत्रमा महिलाको ठूलो योगदान भए पनि ६० प्रतिशत महिला गरिबीको रेखा मुनि रहनुका साथै सोही सङ्ख्यामा भोकमरीमा रहेको जानकारी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनय कुमार कर्णले दिनुभयो ।

मधेश प्रदेशका महिलाहरूमा कृषि साक्षरताको अवस्था कमजोर रहेको छ भने कृषि कर्ममा संलग्न रहेका ५५.६ प्रतिशत महिलामा कृषि साक्षरताको अभाव रहेको पाइएको छ । मधेश प्रदेशका महिलाहरूमा जीवनाशक विषादी, जलवायु परिवर्तनका कारणले परेको असर सहितको विषयमा न्यून जानकारी रहेको र दैनिक रुपमा ४ सय ७७ रुपैयाँ ज्याला पाएर विभेदको शिकार हुनुपरेको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले विगत भन्दा महिलाहरूको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा सहभागिता बढ्दै गएको भएपनि अझै बढाउँदै लान जरुरी रहेको बताउनुभयो । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनका नेपाल तथा भुटानका प्रमुख केन सिमिजुले नेपालमा कृषि क्षेत्रमा व्यापक सम्भावना भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्