हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र बुलेटबाट नभई ब्यालेटबाट पराजित गरी शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको हुनाले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुरा पुष्टि हुन्छ भन्नु भयो ।
काठमाडौँमा आज यदु स्मृति प्रतिष्ठानले आयोजना गरेको २६ औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले माओवादीले भन्दै आएको वास्तविक जनयुद्ध जनयुद्ध नभई हिंसात्मक कार्य रहेको उल्लेख गर्नुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले रुकुम र रोल्पामा माओवादीले थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि रहेको बताउँदै यो स्थितिलाई परिवर्तन नगर्दा सम्म मुलुक सङ्कटमुक्त नहुने बताउनुभयो । उहाँका अनुसार नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली काँग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै भन्नुभयो, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।”
उहाँले माओवादीले हिंसात्मक क्रियाकलाप गरेको विषयमा आत्मसाथ गर्नु पर्नेमा समेत जोड दिनुभयो । त्यसै मन्त्री गुरुङले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग गरेर समाजमा विकृति र विसङ्गति सिर्जना गर्ने आधार बढ्न थालेको बताउनुभयो । “सामाजिक सञ्जालको प्रयोग गरेर गरिने हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व हो”, उहाँले भन्नुभयो ।
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत हिंसात्मक गतिविधि बढ्दै गएकाले यसको रोकथाम गर्नु राज्यको दायित्व रहेको बताउनुभयो । धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक आवश्यक छ ।
मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भेष भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याउन चाहेको हो । उहाँले अहिलेको सरकार लोकतान्त्रिक विधि, मूल्य र मान्यताको उपज भएकाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताउनुभयो । यद्यपि लोकतन्त्रको पनि आफ्नै सीमा हुने र अराजकता प्रवृत्तिलाई लोकतन्त्र भन्न कदापि नमिल्ने उहाँको धारणा छ ।
नेकपा एमाले पार्टी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले माओवादीले शान्तिको नाममा हिंसात्मक गतिविधि रोजेकोले जनयुद्ध नभई हिंसात्मक आचरण रहेको बताउनुभयो । त्यस्तै, सहिद यदु गौतमका सहयोगार्थ तथा एमाले पोलिटब्युरो सदस्य खेममान खड्काले यदु गौतमको राजनीतिक जीवनशैली, योगदान र क्षमतामाथि चर्चा गर्नुभयो ।
यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार पाठकलाई
पत्रकार दिलभुषण पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानले आज काठमाडौँमा एक कार्यक्रम आयोजना गरि उहाँलाई पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो । पाठकले पत्रकारिताको धर्म सधैँ सत्य र निष्पक्ष हुनुपर्ने बताउँदै पछिल्लो समय यस्तो पत्रकारिता हराउँदै गएको बताउनुभयो । उहाँले अहिलेको पत्रकारिता हल्लाको पछाडि दौडिन थालेकोले पत्रकारिता प्रतिको गरिमा ओझेल पर्दै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्