तपाईँ सुन्दै हुनुहुन्छः

मैतीदेवीमा अवस्थित गोदा वेणु गोपालको मन्दिर निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँको मैतीदेवी चोकमा श्री गोदा वेणु गोपाल भगवान्को नवनिर्मित मन्दिर निर्माण सम्पन्न भएको छ । 

वि.सं. २०२२ मा वैकुण्ठवासी श्री १००८ श्रीनिवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर २०७२ सालको भूकम्पले क्षति भएपछि संघ, प्रदेश, स्थानीय तह र भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो । 

मन्दिरमा २०२२ सालदेखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचार प्रसार हुँदै आएको छ । वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको ४ रोपनी ४ आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी ३ सन्निधि रहेको छ । मन्दिरमा ८ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञ कुण्ड रहेको छ भने आगामी शैक्षिक सत्रबाट गुरुकुल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामीयतीन्द्राचार्यले जानकारी गराउनुभयो ।

दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१ औँ पीठाधिपति जगद्गुरु श्री १००८ मधुर कवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महा संप्रोक्षण कार्यक्रम हुने छ ।

फागुन २१ गते साँझ सभा प्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहुति, दिव्य प्रबन्ध सेवकालम र तीर्थ गोष्ठी हुने छ । २२ गते यागशालाामा द्वार तोरण ध्वजकुम्भादि आराधना, अग्नि प्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहुति, वास्तु पूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवाास, मूलमूर्तिहवन, पूर्णाहुति र तीर्थप्रसाद वितरण हुने छ ।

फागुन २३ गते यागशालामा द्वार तोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थ गोष्ठी, मूलमूर्ति हवन, पूर्णाहुति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभएको छ ।

यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुदेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुने छ । फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्त्वन्यास हवनादि, यन्त्र स्थापन, विम्ब प्रतिष्ठा, अष्ट बन्धन, नित्यहोमादि, यन्त्र स्थापना, विम्ब प्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुने छ भने अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य सम्भावना र तदीयाराधना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button