बैजनाथमा किशोरीहरूको रक्तअल्पता (एनीमिया) जाँच सुरु, ८६ जनाको परीक्षण गर्दा ४ जनामा समस्या

बाँके । बैजनाथ गाउँपालिका आज देखि किशोरीहरूको रक्त अल्पता (एनीमिया) जाँच सुरु गरिएको छ ।
बैजनाथ गाउँपालिका–१ रारा माध्यमिक विद्यालय गाभरमा ८६ जना किशोरीको रक्त परीक्षण गर्दा ४ जना किशोरीमा रक्त अल्पताको समस्या देखिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले बताउनु भयो ।
स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण राज शाहीका अनुसार ती किशोरीहरूलाई स्वास्थ्य चौकीमार्फत आइरन चक्की उपलब्ध गराइने साथै, रगत वृद्धि गर्ने खानेकुराबारे स्वास्थ्य परामर्श दिई उनीहरूका अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा शिक्षिका/शिक्षकलाई जानकारी गराइएको जानकारी दिनु भयो ।
बैजनाथ गाउँपालिकाले किशोरीहरूमा समयमै रक्त अल्पताको समस्या पहिचान गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्नका लागि ‘पूर्वसुरक्षित हुन तयारी कार्यक्रम’ अन्तर्गत स्वास्थ्य जाँच सञ्चालन गरेको हो ।
रक्त अल्पता शरीरमा रातो रगतको मात्रा वा हेमोग्लोबिनको स्तर कम हुनु हो । यसले शरीरमा अक्सिजनको आपूर्ति घटाउँछ, जसका कारण थकान, कमजोरी, शारीरिक वृद्धि कम हुनुका साथै गम्भीर अवस्थामा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। किशोरीहरूमा रक्त अल्पता प्रायः पोषणको कमी, मासिक चक्र अत्यधिक रक्तश्राव तथा आइरनयुक्त खानाको कमीका कारण देखा पर्ने गर्दछ भने आन्द्रामा जुकाको संक्रमण भएपनि शरीरमा रगतको कमी हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
विद्यालय स्तरीय रक्त अल्पता जाँच कार्यक्रममा सामाजिक विकास समिति संयोजक भुमिसरा राना, चिसापानी स्वास्थ्य चौकी इन्चार्ज प्रेम शाह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्