तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीबाट फर्केर फूल खेतीमा युवा 

दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रीका फुल ढकमक्क फुलेका छन् । उहाँ बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त हुनुहुन्छ । 

उहाँले भन्नुभयो“आजभोलि फूल रु चार सय किलो र माला रु सात सय ६५ देखि रु सात सय ९० सम्ममा बिक्री गर्दै आएका छु । ” चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूल खेती गर्नुभएका उहाँ यही व्यवसायमा सन्तुष्ट हुनुहुन्छ । आम्दानीको पाटो पनि राम्रो भएको छ, उहाँको फूल खेतीबाट । फूल खेती गर्नुभन्दा अघि उहाँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । 

“विगत लामो समयदेखि थालेको हुँ”, उहाँले भन्नुभयो, “ बाहिरी देशमा कमाएको भन्दा फूल खेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।” रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँ, तिहार लगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूल खेती गर्न थाल्नुभएको हो । उहाँले विगत १२ वर्षदेखि फूल खेती गर्दै आउनुभएको छ । उहाँले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूल खेती गर्नुभएको थियो भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिरहनुभएको छ । अहिले घोराही, तुलसीपुर, लमही लगायत ठाउँबाट फूल मालाको माग आइरहेको बताउनुहुन्छ ।

“जिल्लामा चाडको समयमा मात्र फूल खेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्‍याउनै सकिरहेको छैन”, उहाँले भन्नुभयो, “यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूल खेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ ।” विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनुहुन्छ । 

घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर रु एक लाख ५० हजार बढी आम्दानी गरेको बताउनुहुन्छ । साथै उहाँले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button