तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण छ: सांसद ढकाल

बाँके  । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सम्पन्न बाँके जिल्ला स्तरीय तेस्रो नागरिक सम्मेलनलाई सम्बोधन गर्दै ढकालले समाज रुपान्तरणका लागि हरेक क्षेत्रमा नागरिक समाज अग्रपंतिमा रहने गरेको उल्लेख गर्नुभयो ।

बहुदलीय व्यवस्था देखि देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउँदै तीनै तहका सरकारहरूले नागरिकका आवाजहरूलाई संवेदनशील रुपमा लिनुपर्ने ढकालले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ढकालले नागरिक सम्मेलनमा उठान भएका विषयलाई सम्बोधन गर्न आफ्नो तर्फबाट गर्न सकिने पहल गर्ने बताउँदै नागरिक समाजलाई साझेदारीको रुपमा सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।

नागरिक सम्मेलनमा नागरिक समाजका संस्थाहरूको चुनौती तथा नागरिक स्वतन्त्रताको विषयमा छलफल गरिएको थियो । नागरिक सम्मेलनलाई सम्बोधन गर्दै गैसस महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले साझेदारी, पहरेदारी र खबरदारीका लागि नागरिक संघसंस्थाहरुले सदैव तटस्थ रुपमा भूमिका खेल्दै आएको बताउनुभयो । 

समाज रुपान्तरणका लागि नागरिक समाजले खेलेको भूमिकालाई स्मरण गराउँदै सुवेदीले सरकार पक्ष स्वेच्छाचारी बन्दै गएको र नागरिक आवाजलाई बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो । 

नागरिक संस्थाहरूले गरेको योगदानलाई बिर्सन नहुने भन्दै देशमा व्यवस्था फेरिए पनि अवस्था उस्तै रहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो “सरकारमा बसेकाले ऐन कानून र संविधानले व्यवस्था गरे अनुसारका अधिकारको प्रत्याभूत गराएर अगाडी बढे सहकार्य गर्न तयार छौँ,संविधान विपरीत र देशको कानून विपरीत गएको खण्डमा खबरदारी गर्न पछि पर्ने छैनौँ ।”

नागरिक सम्मेलनमा गैसस महासङ्घ नेपाका केन्द्रीय सदस्य नमस्कार शाहले परिवर्तित अवस्थामा नागरिक समाजको भूमिका, अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, गैसस महासङ्घ नेपाल बाँकेका पूर्व अध्यक्षहरू पुर्णलाल चुके, तेजविक्रम शाह र प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश संयोजक द्वारिका अधिकारी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, इन्सेकका प्रदेश संयोजक भोला महत, गैसस महासङ्घ नेपाल बाँकेका सल्लाहकार वसन्त गौतम लगायतले नागरिक समाजको भूमिकाको विषयमा बोल्नु भएको थियो।

कार्यक्रममा गैसस महासङ्घ नेपालका केन्द्रीय सदस्य धमैलाल रोकाया, कर्णाली प्रदेश इन्चार्ज बिष्णु देवी रावल, बर्दिया शाखा अध्यक्ष प्रिज्मा थारु लगायतको सहभागिता रहेको थियो । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सम्मेलनको शाखा सचिब रमेश सिटौलाले सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button