तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र निर्माणको महाअभियानमा जुटौँ : राष्ट्रपति पौडेल 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट् सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।  

श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुद्घाटन समारोहमा समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनुन् भन्ने मेरो आग्रह छ ।’ उहाँले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ, गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस् ।’

उहाँले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताउनुभयो । उहाँले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुने भन्दै  निजी क्षेत्रलाई लगानीमैत्री वातावरण  बनाउन स्थानीय, प्रदेश र संघ सरकारले उपयुक्त नीति, नियम र कानून निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उल्लेख गर्नुभयो । 

राष्ट्रपति पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले यसलाई सिधै विश्वसँग जोडेको उल्लेख गर्दै जाऊँ है पोखरालगायतका पर्यटन प्रवद्र्धन अभियान मात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले यो विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पोखरालाई अझै आधुनिक, विकसित र सुविधा सम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका वासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button