हिमपातबाट मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
बागलुङ । शुक्रवार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पा लगायत स्थानबाट सञ्चालन हुने सवारी साधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँले बताउनुभयो ।
हिमपात निरन्तर रुपमा भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्