तपाईँ सुन्दै हुनुहुन्छः

पीएसबीले मौसम, विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित सामग्रीहरु उत्पादन तथा प्रसारण गर्ने

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले मौसम, विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धि प्रसारण सामग्री उत्पादन तथा प्रसारणलाई प्राथमिकता दिने भएको छ ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन र बिबिसी मिडिया एक्सन नेपालको सहकार्यमा मौसम, विपद्, यसको पूर्व तयारी तथा जलवायु परिवर्तनसँग सम्बन्धित सामग्रीहरु उत्पादन तथा प्रसारण गर्ने गरी तयारी थालिएको हो ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा आज आयोजित एक कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले मौसम, विपद्, र पूर्व तयारीका सवालहरूलाई प्रसारणमा बढी प्राथमिकता दिइँदै जाने बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा.विष्टले अन्तर्राष्ट्रिय अभ्यास र अनुभवहरूको अनुकरण गर्दै मौसम तथा विपद् सम्बन्धी सूचना, सन्देश सरल र स्पष्ट रुपमा प्रसारण गरी जनचेतना जगाउने सार्वजनिक सेवा प्रसारणको प्रमुख उद्देश्य रहेको पनि बताउनुभयो ।

यस्तै, बिबिसी मिडिया एक्सन नेपालका प्रतिनिधि कामना प्रधान र किरण भण्डारीले मौसम सम्बन्धी सूचना जानकारीलाई सरल र प्रभावकारी रुपमा सञ्चार गर्ने पुलको रुपमा सार्वजनिक प्रसारण नेपालसँग सहकार्य गरिएको बताउनुभयो ।

आज भएको कार्यशालाले रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार तथा कार्यक्रम उत्पादक, प्रसारकहरुबीच प्रसारण सामग्रीको भाषा सरलीकृत गर्ने, शैली पुस्तिका तयारी, डिजिटल सामग्री तयारी गर्ने लगायतका विषयमा छलफल गरी यसको तयारी गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button