तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हात्तीपाइले विरुद्धको औषधि सेवन सुस्त

बाँके।१३ पटकसम्म औषधि खुवाउने अभियान प्रभावकारी नभएपछि बाँकेमा पुनः हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गरिएको छ। तर, औषधि सेवन गर्नेमा खासै उत्साह देखिएको छैन।

बाँकेका तीन नगरपालिका र बैजनाथ गाउँपालिकाको एक वडामा हात्तीपाइलेका बिरामी फेला परेपछि १४औं पटक अभियान सुरु गरिएको हो। नरैनापुर गाउँपालिकाका अनुसार अभियानको ८औं दिनसम्म ४४.६ प्रतिशत जनसङ्ख्याले औषधि सेवन गरेका छन्। स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार अहिलेसम्म १८,०३६ जनाले औषधि खाएका छन्।

यसअघि १३ पटकसम्म औषधि खुवाउने अभियान असफल भएको थियो। स्वास्थ्यकर्मीहरूका अनुसार शिक्षित वर्गमै औषधिप्रति अनिच्छा देखिएको छ। नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो। सन् २०२० मा यो अभियान १३ जिल्लामा सीमित रह्यो। बाँकेमा सन् २०१० (वि.सं. २०६७) देखि अभियान सुरु भए पनि अहिलेसम्म लक्ष्य पूरा हुन सकेको छैन।

नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहका अनुसार सरकार हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्छ, तर लक्षित वर्गले औषधि नखाउँदा अभियान प्रभावकारी हुन सकेको छैन। ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा औषधिप्रति भ्रम बढी रहेको उनले बताए।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्छ। यसबाट बच्न वर्षको एक मात्रा औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीका अनुसार अभियानअन्तर्गत २ लाख ५७ हजार जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ। औषधि सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय छन्। बुधबार दारुक उलुम फैजुन्नबी जामा मस्जिदमा धर्मगुरुहरूलाई औषधि खुवाइएको थियो। मस्जिदका अध्यक्ष अब्दुल रहमान मियाँ र मुफ्ती जाफर रजाले सबैलाई औषधि सेवन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button