तपाईँ सुन्दै हुनुहुन्छः

‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ आमा सरिमायालाई

काठमाडौँ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई प्रदान गरिएको छ । 

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ । 

सोही अवसरमा सचिव पौडेलले रम्तेल जस्ता हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनलाई व्यवस्थित र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । जनयुद्ध कालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रले आजदेखि यही फागुन २१ सम्म साताव्यापी ‘सहिद सप्ताह अभियान’ मनाउने भएको छ । माओवादी केन्द्रका नेता पञ्चा सिंहले जनयुद्धको अपमान गर्न नहुनेमा जोड दिनुभयो । 

संविधानसभा सदस्य विनोद पहाडीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल प्रतिष्ठान’ लाई खुल्ला विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा वुद्धि नेपालीले प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा रु २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष सङ्कलनको कार्ययोजना तीव्र  गतिमा अघि बढाइएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button