तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका शिव मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो 

जनकपुरधाम । महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिव मन्दिरहरूमा पूजा अर्चनाका लागि आज बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । 

तत्कालीन मिथिलाको राजधानी जनकपुरधामको चारैतर्फ रहेको ऐतिहासिक शिव मन्दिरहरूमा भक्तजनहरूको बिहान ३ः०० बजेदेखि पूजा अर्चना गरिरहेका छन् । शिवभक्तहरूले शिवको प्रिय मानिएका जल, दूध, भाङ, धतुरो, फूल अक्षतासहितका सामाग्रीहरू अर्पण गरिरहेका छन् । 

महाशिवरात्रिको अवसरमा जनकपुरधामको पूर्वमा रहेको कपिलेश्वर महादेव मन्दिर, दक्षिण पूर्व कुनामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर, जनकपुरधामको दक्षिण पश्चिम कुनामा रहेको महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर, उत्तर पूर्व कुनामा रहेको क्षिरेश्वरनाथ महादेव मन्दिर तथा पश्चिम उत्तर कुनामा रहेको महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको अत्यधिक भिड लागेको छ । 

यसका साथै जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर तथा स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिरमा पनि विशेष पूजापाठका लागि भक्तजनहरूको अत्यधिक भिड लागेको छ । स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिरमा अन्य वर्ष जस्तै यस पटक पनि विशेष अनुष्ठानको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पवन सिघानीयाले जानकारी दिनुभयो ।  

त्यस्तै, महोत्तरीको जलेश्वरमा रहेको बाबा जलेश्वरनाथ शिव मन्दिरमा विशेष भिड लागेको छ । जलेश्वर मन्दिरको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जलेश्वर नगरपालिकाले आफ्ना नगरप्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको छ । तर जलेश्वर मन्दिर प्रवेशद्वार साँघुरो भएका कारण दर्शनार्थीहरुलाई पूँजाअर्चना तथा दर्शन गर्न भने समस्या भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button