तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानद्वारा किर्गिस्तान २–० गोलले पराजित

काठमाडौँ । लेबनानले सान्त्वना जितसहित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सक्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हराएको हो । यो नतिजासँगै लेबनानले तीन खेलमा दुई हार र एक जितसहित तीन अङ्क जोडेर प्रतियोगिता सक्कायो ।

यी दुई टोली यस खेलअगाबै प्रतियोगिताबाट बाहिरिइसकेका थिए । लेबनानलाई खेलको १३औँ मिनेटमा क्रिस्टी मलोउफले सुरुवाती अग्रता दिलाइन् । २२औँ मिनेटमा म्या रोसे महान्नाले अग्रता दोब्बर बनाइन् । त्यसपछि थप गोल हुन सकेन ।

यता लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले म्यानमारको सामना गरिरहेको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी छ । अपराजित दुवै टोलीले एक खेल अगावै फाइनलमा स्थान बनाइसकेका छन् ।

यसअघि नेपालले किर्गिस्तान र म्यानमारविरुद्ध समान १–० को जित दर्ता गरेको थियो । यत म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गरेको थियो ।

नेपाल र म्यानमार चौथो पटक आमने सामने हुँदैछन् । यसअघि नेपालले दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button